आन्दोलनरत कर्मचारीको माग सम्वोधन गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन
काठमाडौं, ९ असार । संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार विहान भएको शीर्ष बैठकले कानून मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहनुहुनेछन् । यो समितिले कर्मचारीका मागबारे छलफल गरी उपयुक्त सुझाव दिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी हुनुभएकाे थियाे ।
संघीय संसदका कर्मचारीले सेवा सुविधा र तलब बृद्धिलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।