विराटनगरमा खाेलाकाे बाढी बस्तीमा पस्दा ५ सय बढी घर डुबानमा

विराटनगर, १२ असार । विराटनगरमा खाेलाकाे बाढी बस्तीमा पस्दा ५ सय बढी घर डुबानमा परेका छन् ।
निरन्तरको वर्षासँगै विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीयाखोलाको बाढी तटीय बस्तीमा पस्दा ५ सय बढी घर डुबानमा परेकाे हाे । बाढीले विराटनगर महानगरपालिका-६ स्थित खोला आसपासका बस्ती डुवाएकाे छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीका अनुसार खोलाको बाढी करिब ५ सय घरमा पसेको छ भने केसलिया खोलाको बाढी वडा नम्बर १२ को बस्तीमा पसेको छ । उहाँका अनुसार वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।
पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि आज बन्द भएकाे छ ।
महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् ।
विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले जानकारी दिनुभयाे ।