हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै प्राधिकरण नेतृत्वप्रति सांसदहरुको चर्को असन्तुष्टि

काठमाडौं, १० साउन । सांसदहरुले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

विमान दुर्घटना हुने क्रम बढेको उल्लेख गर्दै उहाँहरुले देशको छविसँग पनि जोडिएको संवेदनशील विषयमा प्राधिकरण नेतृत्व र सरोकारवाला टुलुटुलु हेरिरहन नहुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज भएको बैठकमा सांसदहरुले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गर्नुभयो । साथै उहाँहरुले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्नसमेत माग गर्नुभयो ।

सांसदहरुले दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उदयशमशेर जवराले विमान दुर्घटनाको जिम्मेवारी प्राधिकरण नेतृत्वले लिनुपर्ने बताउनुभयो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा आएपछि विभिन्न विमान दुर्घटनामा एकसय भन्दा बढीको मृत्युभएको भन्दै उहाँले बुधबारको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पनि प्राधिकरणको गम्भीर लापर्बाही रहेकाले जिम्मेवार पदाधिकारीलाई कानुनी दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।

नियामक प्राधिकरण र नेपाल वायुसेवा निगमबीच दोषारोपण गरेर मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको उहाँको भनाइ छ । “हवाई सुरक्षालाई छुट्टै नियमनका रुपमा अगाडि नबढाउदासम्म हवाई सुरक्षा बलियो हुँदैन त्यसैले जाँचबुझ आयोगको अध्ययनपछि कार्यान्वयनमा लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद शिशिर खनालले मुलुकको हवाई सुरक्षा पेचिलो बन्दै गएको भन्दै विमान दुर्घटनामा जिम्मेवार निकायलाई कानुनी दायरामा ल्याउनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले प्राधिकरणको वर्तमान नेतृत्वको साढे दुई वर्षमा भएका सात दुर्घटनामा परी दुई सय १८ जनाको मृत्यु भएको भन्दै विमान दुर्घटनाको नैतिक दायित्व र जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभयो ।

सांसद सुदन किरातीले समग्र हवाई सुरक्षा प्रणालीको सुधारका लागि प्राधिकरण विभाजन विधेयक अगाडि बढाइनुपर्ने बताउनुभयो ।

सांसद हरिप्रसाद उप्रेतीले हवाई सुरक्षा अभिवृद्धिमा सबैको ध्यान जानुपर्ने खाँचो औँल्याउनुभयो । डा धवलशमशेर जवराले निश्चित समय तोकेर प्राधिकरण विभाजन विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद हितबहादुर तामाङले अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । सांसद भीमप्रसाद आचार्यले वायुसेवा निगम सुधारका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

समितिका सभापति राजकिशोर यादवले मुलुकमा बारम्बार भइरहेका विमान दुर्घटनाले गम्भीर सुरक्षा लापर्बाही भएको भन्दै नियामक प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । हरेक विमान दुर्घटनामा प्राविधिक पक्ष देखाएर प्राधिकरण पन्छिने गरेको भन्दै नियमक निकायको लापर्बाहीले हवाई सुरक्षामा आँच आइरहेको उहाँको भनाइ थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान दुर्घटनाबारे जाँचबुझ आयोग गठन भएकोले उक्त आयोगको प्रतिवेदन नआउँदासम्म कारणबारे प्रतिक्रिया दिन नसकिने बताउनुभयो ।