गोरखा पहिरो : ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता
गोरखा, १४ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेलापरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको हाे ।
शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो । उक्त शव कान्छीमायाको भएको प्रहरीले पुष्टि गरेको छ ।
आइतबार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।