विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न विश्वविद्यालयहरूलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको राजर्षिजनक विश्वविद्यालयको आठौँ साधारणसभामा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुुभएको हो ।
प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको आफ्नै पौराणिकता छ, यसको आफ्नै गौरव छ, विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए, हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ, त्यस अर्थमा यस भूूभागले विश्वलाई प्रेरणा दिएको छ ।”
बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत सहभागी हुनुुहुुन्थ्यो ।