गलकोट दुर्घटना : पुथा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढालगाएतका शव आजै परिवारलाई बुझाइने

काठमाडाैं, २९ भदौ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएका पुथा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढालगाएतका शव आजै परिवारलाई जिम्मा लगाइनेभएको छ ।

शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढासहित वडा अध्यक्षसमेतकाे मृत्यु भएको थियो ।

मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।

घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का वडा अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो ।

घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।