राष्ट्रसंघकाे महासभामा देशको शिर ढल्नेगरी कुनै काम गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ३१ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै देशको इज्जत तल पर्नेगरी कुनै काम नगर्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’। अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उहाँले बताउनुभयाे ।

महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदै हुनुहुन्छ ।