राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणद्वारा भोलि र पर्सि राति ५६ जिल्लामा रात्रिबस चलाउन राेक

काठमाडाैं, १० असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिबस चलाउन राेक लगाएकाे छ ।

विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन राेक लगाएकाे हो।

बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो।

प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान सूचना जारी गरेको छ।

त्यस्तै, खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेसका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन्। गण्डकीको मनाङ मध्यम जोखिममा छ।

त्यस्तै, लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन्। १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *