गृहमन्त्री लेखक र एसएसबी महानिर्देशक प्रसादले गरे भेटवार्ता
काठमाडौँ २ मङ्सिर । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गर्नुभएकाे छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको हाे ।
भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिनुभयो ।
गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिसुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्फबाट ध्यान जानुपर्नेमा जोड दिँदै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
उक्त भेटवार्तामा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृत मोहनप्रसादससहित उच्च अधिकारीको सहभागिता थियो ।