गीत गाउँदै साटासाट गर्ने होइन त य:मरि ?
काठमाडौं । काठमाडौं उपत्यकामा जाडो निकै बढेको छ। शनिबार बिहान यस वर्षकै कम तापक्रम महसुस भयो काठमाडौंमा। चिसो बढ्दै जाँदा शरीरलाई तातो बनाउन के खाने त ? अहिले जस्तो कुनै प्रविधि र पूर्वाधार नहुँदा काठमाडौंका पर्खाहरुले यही मिनपचासलाई मध्यनजर गर्दै उत्पादन गरेका थिए चाकु।
चाकुको विकाससँगै य:मरि बन्यो। र, नेवार समुदायको अमूर्त सम्पदा बन्यो य:मरि पुन्ही। अनि रचियो विभिन्न राग र तालमा गीतहरु
‘ वा पासा वा वा सकलें वा
छेँखापतिं य:मरि फ्वं वनेवा
त्यःछिं त्यः बक छिं त्यः
लातापाता कुलिंचा जुस्सें त्यः ’
+++
‘ यःमरी च्वामु, उकी दुने हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुति ’
+++
यस्ता कयौं गीत छन् जसले य:मरि लाई जीवन्त बनाउने भूमिका खेलेको छ। यसरी गीत गाउँदै य:मरि माग्न जाने र साटासाट गर्ने चलन छ उपत्यकाका विभिन्न भेगमा। जुन अहिले विस्तारै कम हुँदै गएको छ। यद्यपि, युवा पुस्ता यस्तो अमूर्त सम्पदाको संरक्षण गर्नुपर्छ भनेर लागिरहेका छन्।
धेरै वर्ष भएको छैन य:मरि काठमाडौं उपत्यकामा चर्चाको विषय बनेको। नेवारी खाजाको प्रसिद्धी सुरुदेखि भए पनि पछिल्लो केही वर्षदेखि होटल रेष्टुराँमा १२ महिनानै य:मरि बन्न सुरु भएपछि यसको सोधखोज बढेको छ। सुपर मार्केटमा ‘रेडिमेड य:मरि’ नै पाउन थालिएको छ। केही समयअघि बेलायतमा भएको मास्टर सेफ च्यालेन्जमा नेपालका सन्तोष साहले य: मरि नै बनाएर फाइनल प्रवेश गरे। जससँगै य:मरिले थप चर्चा पायो। अहिले विदेशीहरु काठमाडौंमा म:म सँगै य:मरि खोज्छन्। य:मरि पुन्हीमा नेवार साथीभाइ सँग य:मरिकै चर्चा हुन्छ।
जानकारहरु य:मरिलाई काठमाडौं उपत्यकाका सभ्यताको प्रतिक पनि भन्छन्। कुनै बेला उपत्यकाको जनजीवन कृषिप्रधान थियो। त्यही समाजले जाडो यामलाई लक्षित गरेर बनाएको हो य:मरि। नेवा: संस्कृतिबारे जानकारहरु य:मरि भित्र्याउनुलाई लक्ष्मी भित्राउनुको संज्ञा दिन्छन्। खेती गरेर आउने चामलको पहिलो पिठोबाट य:मरि बनाउनु भनेको लक्ष्मीको आगमन भएको उनीहरुको तर्क छ।
यसले त्यसबखतको नेवा: समाजको सामाजिक अध्ययन गर्न थप बल पुर्याउँछ। त्यो बेला स्थानीय उत्पादनको प्रयोग गरेर जिजीविषा धान्न बनाएको यो परिकार अहिले व्यवसायिक बन्दै गएको छ। धेरै नेवा: महिलाहरुले यही परिकारलाई व्यवसाय बनाउँदै जीविकोपार्जनको आधार बनाउन सुरु गरेका छन्।
य:मरिको कथा पाञ्चाल देश (पनौती) सँग जोडिन्छ। त्यहाँका सुचन्द्र महाजन नाम गरेका एक दानी र उनकी श्रीमती त्यहाँ बस्ने। वैश्य सम्प्रादयका उनीहरू निकै दयालु थिए। उनीहरुले गरेको दान देखेर कुबेरसम्म आश्चर्यमा परे। एकदिन कुबेरलाई सुचन्द्र दम्पत्तिको दयालुपन जाँच्न मन लागेछ। कुबेरले गरिबको रूप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन्। महाजन दम्पत्तिले कुबेरलाई अन्न, धानलगायत जति सक्दो त्यति दान गरेछन्। यो देखेर कुबेरको मन पग्लेछ।
गरिबको रुपबाट कुबेर आफ्नो वास्तविक रुपमा आउँदै उनीहरुलाई य:मरि बनाएर बिमिरोसँगै ढुकुटीमा राखी चार दिनपछि निकाल्नु भनेछन्। चार दिनपछि हेर्दा य:मरि र बिमिरोहरु सुन भइरहेका रहेछन्। त्यसपछि ती महाजन दम्पत्तिले झन् धेरै दान दिन सुरु गरेछन्।
कुबेर महाजन कहाँ माग्न आएको दिन अर्थात् मंसिर शुक्ल पूर्णिमाको सम्झनामा य:मरि माग्ने प्रचलन सुरु भएको विश्वास गरिन्छ।
य:मरिसँग जोडिएको अन्य कथाहरु पनि छन्। हुनत: नेवा: समाज कथैकथाले भरिएको समाज हो। मौखिक रुपमा इतिहास र संस्कृति पुस्तान्तरण हुँदै हुर्केको यो समाजलाई अहिले जीवन्त यस्तै संस्कृतिहरुले गरिरहेको छ।
तर, सामूहिक रुपमा जम्मा भएर ‘य:मरि फ्वेनेगु’ चलन अहिले हराउँदै गएको छ। पहिला जस्तो सबैलाई फुर्सद कहाँ छ र? पहिला पो विशेष अवसर र जाडो याममामात्रै बनाइन्थ्यो य:मरि। अहिले त बाह्रै महिना पाक्छ। य:मरि व्यवसायिक बनेसँगै माग्न र साटासाट गर्न जाने चलन कम हुँदै गएको हो। यद्यपि, उपत्यकामा अहिले संस्कृति जोगाउनुपर्छ भनेर केही स्थानमा य:मरि साटसाट गर्ने गरिएको छ।
नेवा: समाजमा शुभकार्यमा य:मरिको निकै महत्व छ। छोराछोरी २, ४, ६, ८, १० र १२ वर्षको हुँदा उनीहरुको जन्म वर्ष अनुसार य:मरिको माला लगाइदिने प्रचलन छ। यस्तै, जंकुलगायत अन्य कार्यमा समेत य:मरिको महत्व हुन्छ। यहाँ य:मरिलाघ दीर्घायूको प्रतीकको रुपमा दर्साउन खोजिएको छ। अहिले पनि घर-परिवारमा य:मरि बनाउँदा छुट्टै माहोल सिर्जना हुन्छ।
यसरी य:मरि बनाउनु, माग्नु र साटासाट गर्न जानु त्यसबखतको समाजमा प्रेम र सद्भाव प्रकट गर्नु रहेको दर्साउँछ।
अहिले पनि प्रेम र सद्भावकै प्रतिक बनेको छ य:मरि। य:मरि पुन्हीको अवसरमा नेवा: परिवारले य:मरि बनाएर आफ्ना साथीभाइलाई बाँड्नु यसैको स्वरुप हो। युवाहरुमा पनि यस प्रतिको ‘क्रेज’ बढ्नुले यो परिकार जीवन्त रहिरहिनेमा ढुक्क हुन सकिन्छ। यसँगै अब सम्बन्धित धेरै पक्षहरुलाई पनि संरक्षण गर्न सक्ने यसलाई विश्वसामू अमूर्त संस्कृतिका रुपमा पेस गर्न सक्ने आधार धेरै छन्।
मिल्यो भने साथीहरु मिलेर गीत गाउँदै य:मरि साटासाट गर्नु है त!
