कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : महासचिव पोखरेल

काठमाडौँ, १ पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औँ केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताउनुभएको हो ।

“अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन”, उहाले भन्नुभयो, “यथार्थ यही हो, नडराई ढुक्कले काम गर्नुस ।” महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएर यो राष्ट्रको र वर्तमान सरकारले सोही दिशामा काम गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने खतरा भएको र देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न हुनु गलत भएको स्पष्ट पार्नुभयो ।

पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दल प्रति निराशा फैलाउने काम भइरहेको छ ।” एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उहाँको भनाइ थियो।

महासचिव पोखरेलले भन्नुभयो, “आफूलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमाले लागेको छ । यसका लागि हामीले सामथ्र्य बढाउनुपर्छ” । लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनुपर्ने र त्यसका लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेकोमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *