पत्रकारिता लोकतन्त्रको रक्षक: गृहमन्त्री लेखक
काठमाडाैंं, १४ माघ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको रक्षक भएको बताउनुभएका छन्।
उहाँले सिंहदरबारस्थित गृहमन्त्रालयमा नेपाल पत्रकार महासंघका नयाँ पदाधिकारीहरूलाई बधाई दिँदै निष्पक्ष पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउनुभएकाे हाे ।
गृहमन्त्री लेखकले भने, “हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। सरकारले स्वतन्त्र, व्यावसायिक र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्छ।” उहाँले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकतामा कुनै पनि किसिमको हस्तक्षेप नहुने विश्वास दिलाउनुभयाे।
उहाँले पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा जोड दिँदै कपोकल्पित समाचार सम्प्रेषण गर्ने, भ्रम सिर्जना गर्ने र चरित्रहत्या गर्ने गतिविधिबाट जोगिन आग्रह गर्नुभयाे। यस्ता गतिविधिले सञ्चार जगतप्रतिको विश्वास कमजोर हुने उहाँको भनाइ छ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले महासंघको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभयाे। साथै, उहाँले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउनुभयाे ।