प्रधानमन्त्री ओलीद्वारा सरस्वती पूजाको शुभकामना, अज्ञानता हटाउने कामना

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएकाे छ ।

उहाँले प्रकाश र ज्ञानकी प्रतीक देवी सरस्वतीको स्मरण गर्दै अज्ञानता, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् भन्ने कामना गर्नुभएकाे छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएकाे छ, “आज वसन्तपञ्चमी, यसलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।”

प्रधानमन्त्री ओलीले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको बताउनुभएकाे छ ।

उहाँले सरस्वती पूजाको अवसरमा सबैमा ज्ञानको ज्योति फैलिओस् र समाजमा सकारात्मकता छाओस् भन्ने कामना ब्यक्त गर्नुभएकाे छ। साथै, बालबालिकाहरूको शिक्षाको थालनी गर्ने यो शुभ दिनले सबैमा उत्साह र उमङ्ग ल्याओस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएकाे छ।