बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ, नियम उल्लङ्घन गरे जरिवाना
तनहुँ,२४ माघ । पहाडकी रानीको उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दर्य जोगाउन बन्दीपुर गाउँपालिकाले कडाइ थालेको छ।
बजारको ऐतिहासिक पहिचान कायम राख्न गाउँपालिकाले विकास गतिविधि तथा सार्वजनिक र निजी संरचना निर्माणलाई व्यवस्थित गर्ने भएको हाे ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार बजारको सौन्दर्यका लागि घरका बाहिरी गल्ली खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको छ। व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमा सामान राखेर कारोबार गर्ने, टेबल कुर्सी राख्ने जस्ता कार्यलाई निरुत्साहित गर्न अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने नियम बनाइएको छ ।
“व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री वितरण नगर्न र ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ,” अध्यक्ष थापाले भने, “बजार क्षेत्रमा व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका फ्लेक्स बोर्डहरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको छ।”
गाउँपालिकाले बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न समेत कडाइ गरेको छ। नियम कार्यान्वयनका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधि, प्रहरी र पत्रकारको संयुक्त टोलीले बजार अनुगमन थालेको छ। अनुगमनका क्रममा व्यवसायीलाई नियम पालना गर्न आग्रह गरिएको छ र नियम उल्लङ्घन गरेमा रु पाँच हजारसम्म जरिवाना गरिने चेतावनी दिइएको छ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू बन्दीपुरका मुख्य आकर्षण हुन्। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटर उकालो यात्रा गरेपछि पुगिने बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।