नेपाल पुलिस क्लबमा ‘द ब्लु पेभेलियन’ सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं, २६ माघ । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहका बीच उक्त भवनको उद्घाटन गगर्नुभएकाे हाे ।

प्रहरी कर्मचारीहरुलाई स्वस्थ, सक्रिय र तनावमुक्त बनाउने उद्देश्यले रु ७५ करोड ८७ लाख २९ हजारको लागतमा यो भवन निर्माण गरिएको हो। भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हल र दुईतले भूमिगत पार्किङ लगायतका सुविधा रहेका छन्। तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २०७६ भदौ २४ गते यसको शिलान्यास गर्नुभएकाे थियाे ।

उद्घाटन समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी संगठनका जनशक्तिको शारीरिक र मानसिक स्वास्थ्यका लागि यो पेभेलियनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।

महानिरीक्षक वसन्तबहादुर कुँवरले पेभेलियनले प्रहरी कर्मचारीलाई शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्फूर्ति कायम राख्न सहयोग गर्ने बताउनुभयाे। उहाँले भविष्यमा पुलिस क्लबको संरचना विस्तार गरी अत्याधुनिक जिम, साउना, पौडी पोखरीसहितको पुलिस हेल्थ क्लब, सुविधासम्पन्न प्रहरी गेष्ट हाउस र नगर प्रहरी कार्यालयसमेत स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिनुभयाे।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले यो क्लबलाई क्रमशः आम नागरिकको पहुँचमा पुर्‍याइने बताउनुभयाे ।