देउखुरी पुगेर महासचिव पोखरेलले भने, देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ

दाङ, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने व्यक्तिहरूलाई सबैले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताउनुभएकाे छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले श्रीमणि आचार्यले देश र जनताका लागि गरेको योगदानको स्मरण गर्नुभयाे । पोखरेलले कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसबाट उपलब्धि हासिल हुने गरी गर्नुपर्नेमा जोड दिनुभयाे।

भौतिक पूर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरूमा प्रकाश पार्दै पोखरेलले यस्ता कार्यहरूमा तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयाे। विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले बनेका संरचनाको सदुपयोग कसरी गर्ने भन्ने कुरा स्थानीय समुदायमा निर्भर रहने उहाँको भनाइ थियो।

स्थानीय समुदायले संरचनाहरूको उचित प्रयोग नगरेमा सरकारले जतिसुकै लगानी गरे पनि त्यो प्रभावकारी नहुने पोखरेलले बताउनुभयाे। श्रीमणि आचार्यको नाम आफ्नै कर्मले जीवन्त रहेको भन्दै उहाँको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको बताउनुभयाे।