केआईआईटीमा अध्ययनरत १२६ विद्यार्थी असुरक्षाका कारण नेपाल फर्किए
काठमाडाैं, फागुन ७ । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत १२६ जना नेपाली विद्यार्थीहरू रक्सौल नाका हुँदै स्वदेश फर्किएका छन्।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको हालै भएको मृत्युपछि त्यहाँ अध्ययनरत अन्य विद्यार्थीहरूले असुरक्षित महसुस गरेकोले उनीहरू नेपाल फर्किएका हुन्।
जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा नेपाल फर्किएको जानकारी दिए।
फर्किएका विद्यार्थीहरूले केआईआईटी प्रशासनले उनीहरूलाई धम्की दिने र मानसिक यातना दिने गरेको गुनासो गरेका छन्।
यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म विरोध प्रदर्शन गरेको छ। उनीहरूले मृतक विद्यार्थी लम्साललाई न्याय दिलाउन माग गरेका छन्।
