प्रतिनिधिसभामा भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरुको माग
काठमाडौँ,१३ फागुन । प्रतिनिधिसभाका सांसदहरुले भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।
आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणको काम समयमा नसकिँदा सर्वसाधरणलाई आवतजावत गर्न असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद भगवती चौधरीले निर्माणाधीन सडक निर्माणको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरिन्। सांसद भानुभक्त जोशीले सडक निर्माणको प्रगति राम्रो नदेखिएको भन्दै भौतिक पूर्वाधार निर्माण तथा सुधारको काम समयमा सुरु हुन नसकेकोमा आपत्ति जनाए।
सांसद मनबहादुर गुरुङले पोखरा महानगरपालिकास्थित पृथ्वी राजमार्गका केही स्थानमा बाँकी रहेको राजमार्ग विस्तारको काम समयमा सम्पन्न गरी आवातजावतमा सहज गर्न माग गरे। सांसद बिजुला रायमाझीले विपद्मैत्री पूर्वाधार निर्माणमा जोड दिइन्।
त्यस्तै, सांसदहरुले गाँजाको औषधिजन्य व्यवसायका लागि कानुनी व्यवस्था मिलाउन, गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न, व्यवस्थित औद्योगिक क्षेत्रको विकास गर्न, आर्थिक सङ्कट सुधारका कदम चाल्न, कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणमा पढ्ने व्यवस्था मिलाउन, भक्तपुरमा स्मार्ट सहरको काम तत्काल अघि बढाउन र कृषि उपजको बजारीकरण सुनिश्चित गर्न माग गरे।