श्रमदानबाट धरानमा बन्दै ढुङ्गे पार्क, पर्यटकको आकर्षण बन्ने आशा
सुनसरी,२० फागुन । धरान उपमहानगरपालिका–४ खैरेनीटारमा फोहोर र झाडीले ढाकेको ठाउँलाई श्रमदानबाट व्यवस्थित बनाएर ढुङ्गे पार्क निर्माण भइरहेको छ। धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँदेर यसलाई जीवन्त बनाइरहेका छन्।
ढुङ्गे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाका अनुसार स्थानीय कला संस्कृति झल्काउने र श्रम संस्कृतिको नमूना विकास गर्ने उद्देश्यले पार्क निर्माण थालिएको हो। धरानका नगरप्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदानबाट निर्माण गरिएका दर्जनौं पार्कहरूमध्ये यो पनि एक हो। पार्क निर्माणमा विभिन्न संघसंस्था र दाताहरूले सहयोग गरिरहेका छन्।
हाल खोटाङ, ओखलढुङ्गा, धनकुटा, मोरङ र सुनसरीका आठजना मूर्तिकारहरूले पार्कमा विभिन्न आकृतिहरू कुँदिरहेका छन्। धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईका अनुसार श्रमदानबाट बनेका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ।
पार्कमा डा. सन्दुक रुइत, कुलमान घिसिङ, महावीर पुन लगायतका व्यक्तिहरुका आकृति कुँदिएका छन्। खैरेनीटारका स्थानीयवासी आनन्द राईका अनुसार पार्कमा बनेका आकृतिहरूले पर्यटकको ध्यान खिच्न थालिसकेका छन् र दैनिक १०० भन्दा बढी पर्यटक आउन थालेका छन्।
स्वतन्त्र नागरिक समाज (म्याक्स टिम) ले श्रमदानबाट पार्कमा १६ फिट अग्लो ४ नम्बरको स्तम्भ निर्माण गरेको छ, जसले पार्कको आकर्षणलाई थप बढाएको छ।
