धवलागिरिमा १०५ पूर्वाधार योजना कार्यान्वयनमा

म्याग्दी, २६ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ। गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेको गाउँपालिकाले जनाएको छ।

यी योजनाहरू सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन र खेलमैदान निर्माणसँग सम्बन्धित छन्। प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालका अनुसार मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको छ।

चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब १५ करोड बजेट विनियोजन भएकामा सात महिनामा १५ प्रतिशत खर्च भएको छ। कुल ४७ करोड २९ लाख ५८ हजार बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा २८.९१ प्रतिशत अर्थात १३ करोड ६७ लाख ५६ हजार ६७५ खर्च भएको छ।

मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, लुलाङ–गुर्जा सडक, मुदी वडा कार्यालय र मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ। लुलाङ–गुर्जा सडकमार्फत नौ किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको छ भने ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका २२ योजना कार्यान्वयनको चरणमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *