सप्तरीमा दलित परिवार नागरिकताविहीन, पहिचानको खोजीमा संघर्ष

सप्तरी, ४ चैत । सप्तरीको शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका मागैन सदाको दलित परिवार नागरिकताविहीन हुँदा पहिचानको खोजीमा संघर्ष गरिरहेका छन् ।

मागैन मात्र होइन, उनको परिवारका सदस्यहरू पनि नेपाली नागरिकता नपाउँदा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएका हुन्।

६० वर्षीय मागैन सदा, उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, जेठो छोरा २२ वर्षीय गोविन्दा र कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन्। मागैनका बुबा फनि सदा र आमा चरी सदाको नागरिकता नहुँदा मागैनको जन्मदर्ता बन्न सकेन। फलस्वरुप, उनको परिवार नै नागरिकताबाट वञ्चित भएको हो। “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बनेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न सकेको छैन,” मागैनले भने।

गरिबीका कारण भारतमा काम गरेका मागैन अब स्वदेशमै काम गर्न चाहन्छन्, तर नागरिकता नहुँदा समस्या भएको छ। उर्मिला सदाले नागरिकताका लागि आवश्यक कागजात नहुँदा नेपाली भएर पनि जीवन व्यर्थ भएको महसुस भएको बताइन्। नागरिकता नहुँदा समाज र समुदायबाट पनि अलग हुनुपरेको उनको गुनासो छ।

यस्तै समस्या चन्दर सदाको परिवारमा पनि छ। बुबा धोथर सदाको नागरिकता नहुँदा चन्दर, उनकी श्रीमती कदमीदेवी, तीन छोरी र दुई छोरा पनि नागरिकताबाट वञ्चित छन्।
सप्तरीका विभिन्न स्थानीय तहमा यस्ता समस्या देखिएपछि व्यक्तिगत घटना दर्ताका लागि सचेतना कार्यक्रम सुरु गरिएको छ। द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा दलित समुदाय लक्षित घटना दर्ता अभियान सञ्चालन गरेको छ।

यसैगरी, शम्भुनाथ नगरपालिका-३ कचन्दाहाकी ७२ वर्षीया सतोदेवी सदा पनि नागरिकता नहुँदा राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छिन्। नागरिकता बनाउन धेरै प्रयास गरे पनि सफल नभएको उनले बताइन्। शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीले नागरिकताको महत्त्व नबुझेर पूर्वजहरूले समयमै दर्ता नगर्दा अहिले समस्या भएको बताइन्। प्रमाण जुटाउन नसक्दा सिफारिस गर्न कठिनाइ भइरहेको वडाध्यक्ष नवीनकुमार चौधरीले बताए।