राष्ट्रियसभा बैठक सुरु, बैंकिङ कसुर विधेयकमाथि छलफल हुने
काठमाडौं, ४ चैत । राष्ट्रियसभाको बैठक आजबाट सुरु भएको छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
शिक्षामन्त्री भट्टराईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ। साथै, उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेश हुने संघीय संसद सचिवालयले जनाएको छ।