वैदेशिक रोजगारीको कहालीलाग्दो पीडा : ११ महिनापछि बाकसमा फर्किए तिलमायाको शव
नवलपरासी, ६ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४, हसौरामा मंगलबार बिहान धनमाया सार्कीको घरमा शोकको बादल मडारिएको थियो। मधुरो घामको किरणसँगै गाउँलेहरू शोकाकुल परिवारलाई सान्त्वना दिन जम्मा भएका थिए। आँगनमा राखिएको बाकसले वातावरणलाई झनै गम्भीर बनायो, जहाँ धनमायाकी २६ वर्षीया छोरी तिलमाया सार्कीको शव थियो। वैदेशिक रोजगारीको लागि मलेसिया गएकी तिलमाया अब कहिल्यै नफर्किने गरी बाकसमा बन्द भएर आइपुगेकी थिइन्।
घरको आँगनमा ६ वर्षीया नातिनीले बारम्बार सोधिरहेकी थिइन्, “हजुरआमा, ममी कहिले आउनुहुन्छ?” तर ७० वर्षीया हजुरआमा धनमायाको गला अवरुद्ध थियो। उनी आँसु पुछ्दै बन्द बाकसलाई हेरिरहन्छिन्, जहाँ उनकी जवान छोरी चीरनिद्रामा निदाइरहेकी छिन्। सम्पूर्ण गाउँ शोकमा डुबेको छ, कसैले पनि ती अबोध बालिकालाई सत्य कुरा बताउन सक्दैन।
श्रीमानसँग सम्बन्धविच्छेद भएपछि तिलमायालाई छोरीको लागि आमा र बुबा दुवै बन्नुपर्ने बाध्यता थियो। गाउँमा रोजगारीको अवसर नहुँदा र उधारोले घर चलाउन मुस्किल भएपछि उनी मलेसिया जान बाध्य भएकी थिइन्।
“म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु,” उनले ६ वर्षीया छोरीलाई वृद्ध आमाको जिम्मा लगाएर मलेसियाको बाटो रोजिन्। तर, परदेशी भूमिले उनलाई चाँडै नै खोस्यो। गत वैशाख २६ गते मातातीर्थ औंसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमायाले गरेको फोन नै परिवारसँगको अन्तिम कुराकानी बन्यो।
केही दिनपछि, परिवारले अप्रत्याशित खबर सुन्नुपर्यो – “तिलमायाको हत्या भयो।” यो खबरले परिवारलाई वज्रपात गरायो। एक पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न धेरै हप्ता लाग्यो। सरकारी प्रक्रिया पूरा गरेर हत्या भएको ११ महिनापछि बल्ल तिलमायाको शव बाकसमा घर आइपुग्यो।
गाउँलेले तिलमायालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरियो। मृत्युपश्चात् छोरीको अन्तिम दर्शन गर्ने धनमायाको अठोटले तिलमायाको शव नेपालसम्म आइपुगेको हो। हत्या गरिएको बीभत्स शव नेपाल ल्याउन परिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै विभिन्न निकायमा धाउनुपर्यो।
सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले आप्रवासन केन्द्रको निरन्तर प्रयास र सञ्चारमाध्यममा आएका समाचारले शव नेपाल ल्याउन सम्भव भएको बताइन्।
“सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि सुनुवाई हुन सकेको थिएन,” उनले भनिन्, “शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको छ र १५/२० दिनमा राहत पनि आउनेछ।” वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछन् भने मलेसियामा अदालतको फैसलापछि मात्र हत्या गर्ने व्यक्तिबाट क्षतिपूर्ति भराइने भएको छ।
सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्क अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ। मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ। यो घटनाले वैदेशिक रोजगारीको पीडादायी यथार्थलाई उजागर गरेको छ।