विराटनगरमा महासचिव पोखरेलको उद्घोष: जनता अब उज्यालोबाट अन्धकारमा फर्किंदैनन्
विराटनगर, १० चैत । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनता अब विकास र समृद्धिको उज्यालो मार्गबाट अन्धकारतर्फ फर्कन नसक्ने दाबी गर्नुभएको छ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले वर्तमान सरकार जनताको निराशालाई चिर्दै देश र जनताको हितमा काम गरिरहेको बताउनुभयो।
उहाँले राजनीतिक स्थिरता कायम गर्न दुई ठूला दल मिलेर सरकार बनाएको स्पष्ट पार्दै विगतमा समस्या पर्दा कांग्रेस र एमाले मिलेरै सरकार बनेको स्मरण गराउनुभयो। यस्तो बलियो सरकारले समस्या समाधान गर्दै देशलाई निकास दिने उहाँको भनाइ थियो।
महासचिव पोखरेलले पञ्चायती शासनकालमा जनताले आधारभूत अधिकार र आवश्यकताहरूबाट वञ्चित हुनुपरेको स्मरण गर्दै लोकतन्त्रको आगमनपछि शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार विकासले गति लिएको बताउनुभयो। उहाँले सञ्चारकर्मीहरूलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गराउन आग्रह गर्नुभयो।
“पञ्चायती व्यवस्था मुलुकका लागि अन्धकार युग थियो,” उहाँले भन्नुभयो, “त्यतिबेला साक्षरता दर न्यून थियो, बिजुली उत्पादन सीमित थियो, र जनता आधारभूत सुविधाबाट समेत टाढा थिए।”
नेपालको प्रगति देख्न नचाहने तत्वहरूले राजनीतिक अस्थिरता निम्त्याउने गरेको आरोप लगाउँदै महासचिव पोखरेलले जनता सचेत भइसकेकाले भ्रम फैलाएर कसैलाई पनि गुमराहमा राख्न नसकिने बताउनुभयो। उहाँले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममाथि अंकुश लगाउन नहुने तर लोकतन्त्रको नाममा अराजकता मच्चाउने छुट पनि दिन नहुने धारणा राख्नुभयो।