प्रतिनिधि सभाकाे बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडाैं, १९ चैत्र । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाकाे बैठक आजपनि बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ। त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको कार्यसूची छ।

आजको संसद् बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको जलस्रोत विधेयक २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै जलस्रोत विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *