राप्रपाको आज बल्खुमा प्रदर्शन, यस्ताे छ उपत्यकाकाे ट्राफिक व्यवस्थापन

काठमाडौं, २६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने तय गरिएसंगै उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।

राप्रपाले विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध सभा गर्ने तयारी गरिएपछि ट्राफिक महाशाखाले सूचना जारी गर्दै आज सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको हाे ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लगायत आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।

महाशाखाले यी स्थानमा सवारी डाइभर्सन गरिने जनाएकाे छ ।

खसिबजार-मकालु-कलङ्की चोक-बाफल ।
बल्खु चोक-कुलेश्वर-कालीमाटी चोक-टेकु ।
कीर्तिपुर-सुन्दरीघाट-सानेपा-एकान्तकुना ।
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू

त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले टियू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवै तर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सितापाईला-बाफल सडक खण्डमा एक लाइन पार्किङ गर्न सकिने महाशाखाले जनाएकाे छ ।