‘मेटा’ले एक हप्ता भित्र सूचीकृत नभए बन्द गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ, १२ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्मकाे माउ कम्पनी ‘मेटा’लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभएको छ ।

आज राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रियामा मन्त्री गुरुङले मेटालाई तीन पटकसम्म सूचीकृत हुन पत्राचार गर्दा समेत वेवास्ता गरेको उल्लेख गर्दै हप्ता दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभएको हो ।

जुन देशमा व्यवसाय गर्यो त्यही देशको कानुन पालना गर्दिन भन्नु मेटाको अपमानजनक प्रवृत्ति भएको उहाँको भनाइ थियो ।

“नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?”, उहाँले भन्नुभयो, “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं ।” मन्त्रालयका सचिव स्तरबाट मेटाका अधिकारीबीच छलफल गरेर सम्पर्क केन्द्र तोक्न ताकेता भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

यसअघि टिकटक, भाइबरलगायत सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकृत भइसकेका छन् । यसका साथै अन्य सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयमा सूचीकृत हुन मन्त्री गुरुङले अनुरोध गर्नुभयो । सामाजिक सञ्जाल व्यवस्थित गर्न, समाजप्रति उत्तरदायी र जवाफदेही बनाउन सूचीकरण अनिवार्य रहेको उहाँको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *