चार सय वर्ष पुरानो शिवालय मन्दिर संरक्षण अभावमा ओझेलमा

 

बर्दिया, १५ वैशाख । बर्दियाको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित ऐतिहासिक चार सय वर्ष पुरानो शिवालय मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको यस मन्दिरको प्रचारप्रसार र संरक्षणमा सरोकारवाला निकायको ध्यान नपुग्दा मन्दिरको मौलिकता हराउँदै गएको छ।

मन्दिरभित्रका भित्तामा पालि भाषामा लेखिएका अक्षरहरू अझै देख्न सकिन्छ। पुरातत्व विभागका अनुसार मन्दिर परिसरमा रहेको साँढेको मूर्ति करिब चार सय वर्ष पुरानो हो। तर, संरक्षणको अभावमा यहाँका अन्य पुरातात्विक सामग्री हराउँदै गएका छन्। करिब २०–२२ वर्षअघि मन्दिरभित्र रहेको शिव, पार्वती र गणेशका मूर्तिहरू समेत हराइसकेका छन्। साँढेको मूर्ति भने यथावत् छ।

लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य तथा समाजसेवी कबिराम थारूको पहलमा २०७९ सालमा मन्दिरको पुनःनिर्माण गरिएको थियो। प्रदेश सरकारको एक करोड रुपैयाँ लगानीमा पुरानै शैलीमा मन्दिर पुनःनिर्माण गरिए पनि प्रचारप्रसारको अभावमा धार्मिक तथा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आउन सकेको छैन। करिब तीन कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा ६१ फिट अग्लो मन्दिर रहेको छ।

पुनःनिर्माणपछि मन्दिरभित्र नयाँ शिवलिङ्गसहित शिव, पार्वती र गणेशका मूर्तिहरू पुनःस्थापना गरिएको छ। मन्दिर अगाडि रहेको ऐतिहासिक साँढेको मूर्ति भने जस्ताको तस्तै सुरक्षित गरिएको छ।

बोकटिया गाउँका ८२ वर्षीय ज्येष्ठ नागरिक शङ्कर थारूका अनुसार करिब सात दशकअघि मन्दिर निकै आकर्षक धार्मिक आस्थाको केन्द्र थियो। मन्दिरभित्र हातले कुँदिएका विभिन्न प्राचीन मूर्तिहरू थिए, जसलाई हेर्न आन्तरिक धार्मिक पर्यटकको घुइँचो लाग्थ्यो। उनका अनुसार, “२० वर्षअघि मात्र यहाँ शिव, पार्वती, गणेश र साँढेको मूर्ति थिए। शिवरात्रिमा एक हप्ता भजनकिर्तन, पूजापाठ र भण्डारा चल्थ्यो। कुनै समय सन्तान प्राप्तिको कामना गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वाससहित भक्तजनको भीड लाग्थ्यो। अहिले त्यो अवस्था छैन।”

मन्दिरसँगै रहेको ऐतिहासिक इनारसमेत संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। स्थानीय बड्घर ठग्गु थारूका अनुसार एक सय ६० भन्दा बढी घरधुरी रहेको थारु बस्तीको मझगाउँमा रहेको मन्दिर परिसरको इनारमा चार वटा मूलबाट पानी आउँथ्यो, जुन कहिल्यै सुक्दैनथ्यो। अहिले इनारको अवस्था पनि जिर्ण छ।

स्थानीय अगुवाहरूले मन्दिर र इनारको संरक्षण गर्दै धार्मिक कार्यक्रम पुनः सञ्चालन तथा प्रचारप्रसार गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, मन्दिर क्षेत्रको उचित संरक्षण र प्रवर्द्धन गरिएमा यहाँ आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको विकास भई स्थानीयवासीले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *