पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि जसपा नेत्रीलाई प्रहरीले बाेलायाे

काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पेस्तोल पड्काएर नाचेको दृश्य समेटिएको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। बुधबारदेखि भाइरल भएको सो भिडिओमा डा. सिंह अन्य व्यक्तिहरुसँग नाचिरहेको देखिन्छ। भिडिओमा उनले पेस्तोलबाट एक राउण्ड ‘हवाई फायर’ गरेको र त्यसपछि धुवाँ उडेको स्पष्ट देखिन्छ। लगत्तै, अर्का एक युवाले उक्त पेस्तोल समातेको पनि भिडिओमा कैद छ।

यो भिडिओ भाइरल बनेसँगै जिल्ला प्रहरी कार्यालय, सप्तरीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्। प्रहरीका अनुसार, भिडिओ कहिले र कहाँ खिचिएको हो भन्नेबारे हालसम्म यकिन भइसकेको छैन। सोधपुछपछि घटनाको वास्तविकता खुल्ने प्रहरीे जनाएकाे छ ।