गभर्नर नियुक्ति छिट्टै टुंगिने सभापति देउवाको आश्वासन

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया चाँडै टुंगिने आश्वासन दिनुभएको छ।

शुक्रबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा नेताहरूले नियुक्तिमा भएको ढिलाइप्रति चासो व्यक्त गरेपछि सभापति देउवाले यस्तो बताउनुभएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्नुभयो, “सभापतिज्यूले यो विषय चाँडै टुंगिन्छ भन्नुभएको छ। राष्ट्र बैंकको नेतृत्व व्यावसायिक र सक्षम व्यक्तिको हातमा जानुपर्छ र सहमतिबाटै निर्णय हुन्छ भन्ने उहाँको भनाइ छ।”

यसैगरी, बैठकमा संवैधानिक निकायहरूमा रिक्त पदपूर्ति शीघ्र गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि छलफल भएको थियो। प्रवक्ता महतका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को कामलाई निष्कर्षमा पुर्‍याउन आवश्यक संरचना निर्माणका लागि अन्य दलहरूसँग संवाद अघि बढाउने निर्णय पनि भएको छ। साथै, बैठकमा शिक्षा विधेयकका विविध पक्षमाथि पनि विमर्श भएको उहाँले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *