नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बित

काठमाडौँ, १ जेठ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बित भएका हुन्।

बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी सञ्चारमन्त्री रहँदा मन्त्रिपरिषद्को अधिकार क्षेत्र बाहिर गई टेरामक्स खरिद तथा कार्यान्वयनको निर्देशन दिएको र सोहीअनुसार दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानुनविपरीत काम गरेको अभियोग लगाइएको छ।

उक्त मुद्दामा बस्नेतसहित १६ जनालाई प्रतिवादी बनाइएको छ र उनीहरुबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने प्रावधान रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *