महानगरको शून्य बेरुजु कार्ययोजना बनाउन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/०८१ को बेरुजु फर्स्यौट गरी आगामी वर्ष शून्य बेरुजुको लक्ष्य हासिल गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेकी छन्।

उपप्रमुख डंगोलले आज सम्बन्धित विभागीय प्रमुखहरूसँगको छलफलमा यस्तो निर्देशन दिएकी हुन्। वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, योजना अनुगमन तथा मूल्याङ्कन र आन्तरिक लेखा परीक्षण एकाइका अधिकारी सम्मिलित समितिले कार्ययोजना तयार पार्नेछ। छलफलमा २०८०/०८१ मा देखिएका बेरुजुको प्रकृति र फर्स्यौट प्रक्रियामाथि व्यापक छलफल भएको थियो।
उपप्रमुख डंगोलले भनिन्, “विगतको बेरुजु फर्स्यौट र आगामी आर्थिक वर्ष शून्य बेरुजुको कार्ययोजना बनाउनु हाम्रो पहिलो प्राथमिकता हो। प्रतिवेदनका सुझावलाई सम्बन्धित विभाग र वडाले स्पष्ट पार्नुपर्नेछ। प्रक्रिया पुगे पनि कागजपत्र अभावमा देखिएको बेरुजुमा प्रमाण पेस गर्नुपर्नेछ। महालेखा परीक्षण प्रतिवेदनलाई ध्यानमा राखेर आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम तय गरिनेछ।”
छलफलमा वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले २०८०/०८१ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित सैद्धान्तिक, नियमित र असुलउपर गर्नुपर्ने बेरुजुको जानकारी गराएका थिए। सार्वजनिक निर्माण, सम्पदा तथा पर्यटन र शिक्षा विभागसँग सम्बन्धित बेरुजुका विषयमा छलफल भएको र अन्य विभागका विषयमा आगामी बैठकमा छलफल हुने जनाइएको छ।
महानगरले वित्तीय सुशासनका लागि पूर्व, आन्तरिक र अन्तिम गरी तीन चरणमा लेखा परीक्षण गर्दै आएको छ। २०७१/०७२ को नगर परिषद् निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मको भुक्तानीमा पूर्व लेखा परीक्षण हुन्छ भने २०७३/०७४ देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण हुँदै आएको छ।

रुजु नभएको आर्थिक कारोबार, रित नमिलेको काम, भिडान नभएको खर्च आदिलाई बेरुजु मानिन्छ। लेखापरीक्षकले औँल्याएको अनियमित रकम, ऐन, नियम, कार्यविधि विपरीतको कारोबार पनि बेरुजुमा पर्छन्। बेरुजुलाई सैद्धान्तिक, लगती, नियमित गर्नुपर्नेलगायत विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ।
