सुर्खेत विमानस्थलको धावनमार्गमुनिबाट पानी निस्किएपछि उडान ठप्प, शनिबारसम्म खुल्ने अपेक्षा
सुर्खेत, ८ जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर विमानस्थलको धावनमार्गमा अप्रत्याशित रूपमा जमिनमुनिबाट पानी निस्किएपछि मङ्गलबारदेखि सम्पूर्ण हवाई उडान सेवा अवरुद्ध भएको छ। धावनमार्गमा समस्या देखिएसँगै विमानस्थल बन्द गरिएको हो।
सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेका अनुसार, मङ्गलबार धावनमार्गको उत्तरतर्फ एक्कासी खाल्डो देखा परेको थियो। उक्त खाल्डो पुर्ने क्रममा सोही दिन नजिकैको अर्को स्थानबाट पनि जमिनमुनिबाट पानी रसाउन थालेपछि थप समस्या उत्पन्न भएको हो।
“धावनमार्गमा पानी देखिएसँगै तत्कालका लागि विमानस्थल बन्द गरिएको छ,” प्रमुख काफ्लेले भन्नुभयो, “शनिबारसम्म मर्मत सम्पन्न गरी सेवा सुचारु गर्ने लक्ष्यका साथ काम भइरहेको छ।” उहाँले हाल पानी देखिएको ठाउँमा मर्मत गरिए पनि समस्याको दीर्घकालीन समाधानका लागि भौगर्भिक अनुसन्धान आवश्यक रहेको बताउनुभयो।
धावनमार्गमा पानी आउनुको यकिन कारण भने खुल्न सकेको छैन। “धावनमार्गको सतह केही भासिएको छ। वरपर डाँडाकाँडा र खोलानाला भएकाले जमिनमुनि पानीको स्रोत हुनसक्छ, खोतल्दा देखिएको हो। विस्तृत कारण भौगर्भिक अध्ययनपछि नै थाहा होला,” प्रमुख काफ्लेले थप्नुभयो।
सुर्खेत विमानस्थल बन्द हुँदा कर्णाली प्रदेशका बासिन्दाहरू हवाई यात्राका लागि करिब ५ घण्टाको सडक यात्रा गरी नेपालगन्ज पुग्न बाध्य भएका छन्, जसले उनीहरूको समय र खर्च दुवै बढाएको छ।
