चुरे संरक्षणमा अपेक्षित उपलब्धि हासिल भएन : राष्ट्रपति पौडेल
काठमाडौँ, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले स्थापनाको उद्देश्यअनुसार अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।
उहाँले संस्थाभित्र अनुशासन र कर्तव्यपरायणता कायम गर्दै संरक्षणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नवलपरासीको कावासोतीमा आज आयोजित ‘चुरे संरक्षण दिवस २०८२’ का अवसरमा बोल्दै राष्ट्रपतिले संरक्षणका कार्यक्रमहरूको कार्यान्वयन अनुभवका आधारमा नीतिगत, कानुनी र सङ्गठनात्मक संरचनामा सुधार आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कावासोती–३ स्थित ज्योतिपुञ्ज सामुदायिक वनमा बरको बिरुवा रोप्नुभयो भने प्रथम महिला सविता पौडेलले पिपलको बिरुवा रोप्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत केही काम भए पनि समिति जुन उद्देश्यअनुसार गठन भएको थियो, त्यसअनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन। यसको गम्भीर समीक्षा हुन जरुरी छ ।”
राष्ट्रपति पौडेलले चुरे क्षेत्र नेपालका करिब ६० प्रतिशत जनताको जीवन पद्धतिसँग जोडिएको बताउँदै यसको संरक्षण महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । मानवीय चाप, अवैज्ञानिक खेती, वन फँडानी र नदीजन्य पदार्थको अनियन्त्रित दोहनका कारण चुरेको प्राकृतिक स्रोत विनाश भइरहेको उहाँको भनाइ थियो ।
कमजोर भौगर्भिक बनोटका कारण पहिरो र भू–क्षयको जोखिम उच्च रहेको चुरे क्षेत्रको विनाशले तराईको उर्वराभूमि मरुभूमिमा परिणत हुने खतरा बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहेको भन्दै वृक्षारोपण र पोखरी निर्माणजस्ता कार्यलाई अझ व्यापक बनाउन उहाँले आग्रह गर्नुभयो ।