उदयपुरमा युवक रुखमा झुण्डिएको अवस्थामा फेला, किशोरीको शव बाटोमा
उदयपुर, ४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका-४, अमलचौरीमा एक युवक र एक किशोरी रहस्यमय अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार स्थानीय २७ वर्षीय रवीन्द्र राई र १४ वर्षीया मञ्जु राईको शव भेटिएको हो।
प्रहरीका अनुसार मञ्जुको शव गाउँकै बाटोमा फेला परेको थियो भने रवीन्द्रको शव त्यसभन्दा करिब २०० मिटर पर रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो।
एकैसाथ दुई जनाको शव फरक-फरक अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
मृत्युको कारणबारे तत्काल केही नखुलेको र थप अनुसन्धानपछि मात्रै सत्यतथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।