पहिरो र बाढीले बुटवल-नारायणगढ सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रूपन्देही, ५ असार । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व) ले सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
लगातारको वर्षाले विनय खोलामा पानीको बहाव बढ्दा डाइभर्सनमा क्षति पुगेको छ। साथै, दुम्कीबास–दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रमा सडक हिलाम्मे र चिप्लो हुँदा सवारी साधन फस्ने समस्याले यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
प्रहरीले पूर्वबाट पश्चिमतर्फ जाने सवारीलाई नारायणगढबाट मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवल जान आग्रह गरेको छ। त्यसैगरी, पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि बुटवलबाट स्याङ्जा–पोखरा–मुग्लिङको बाटो प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ। काठमाडौँबाट पश्चिम जाने गाडीलाई पनि मुग्लिङ–पोखरा हुँदै जान भनिएको छ।
साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोरको गैँडाकोट–पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने विकल्प दिइएको छ। निर्माणाधीन अवस्थामा रहेको यो सडक खण्डको डाइभर्सन पटक–पटक बगाउँदा र दाउन्नेको उकालोमा काम नसकिँदा बर्सेनि यस्तै समस्या देखिने गरेको छ।