नारायणगढ-मुग्लिन सडक खुल्यो, तुइनभीरको जोखिमपूर्ण ढुङ्गा पन्छाइयो

चितवन, १२ असार । नारायणगढ-मुग्लिन सडकखण्डमा अवरुद्ध यातायात पुनः सञ्चालनमा आएको छ। इच्छाकामना-६ स्थित तुइनभीरमा अड्किएको जोखिमपूर्ण ढुङ्गा पन्छाएपछि सडक दुईतर्फी रूपमा खुलेको हो।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार, सम्भावित दुर्घटना रोक्न आज बिहान ११ बजेदेखि सडक बन्द गरिएको थियो। कार्यालयले लामो बुम भएको स्काभेटर प्रयोग गरी भीरमा अड्किएको ढुङ्गालाई सुरक्षित रूपमा खसालेको हो।

काम सम्पन्न गर्न निर्धारित समयभन्दा केही बढी लागेकाले दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले ढुङ्गा हटाउने काम सकिएसँगै अहिले सडकमा यातायात नियमित र सहज रूपमा चलिरहेको जानकारी दिनुभयो।