एसईईमा कमजोर नतिजा: उपप्रमुख डंगोलले नतिजाको कारण खोज्न प्रधानाध्यापकहरुसँग छलफल

काठमाडाैं, १९ असार । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कमजोर नतिजा ल्याएका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरेको छ ।

पछिल्लो तीन वर्षदेखि अपेक्षित नतिजा दिन नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा बढी विद्यार्थी ‘नट ग्रेडेड’ भएका विद्यालयका प्रमुखहरूलाई बोलाएर उपप्रमुख डंगोलले नतिजा सुधारका लागि गम्भीर हुन आग्रह गरेको हो ।

छलफलमा उपप्रमुख डंगोलले सामुदायिक विद्यालयमा प्रधानाध्यापकलाई कुशल व्यवस्थापक र शिक्षकलाई बालमैत्री तथा समस्या समाधान गर्न सक्ने नेतृत्वदायी भूमिकामा देख्न चाहेको बताउनुभयो । “चुनौती छन्, त्यसैले त नेतृत्वको खोजी भएको हो,” उहाँले भन्नुभयो, “अबको एक महिना ‘नट ग्रेडेड’ नतिजा ल्याएका विद्यार्थीको नतिजा सुधार्न केन्द्रित होऔँ । त्यसपछि समस्याको गहिराइमा पुगेर थप योजना बनाऔँला ।”

प्रधानाध्यापकहरूले विद्यार्थीको नतिजा बिग्रिनुमा विद्यालय, अभिभावक र विद्यार्थी स्वयं जिम्मेवार रहेको बताए । उनीहरूले निम्न प्रमुख कारणहरू औंल्याए: पारिवारिक समस्या: घरभित्रको कलह र विद्यार्थीले पढाइमा ध्यान दिन नसक्नु ।

अभिभावकीय उदासीनता: कतिपय अभिभावकले “मेरो बच्चा एसईई फेल भए पनि फरक पर्दैन, उसलाई ब्ल्याक बेल्ट चाहिएको छ” भन्ने जस्ता गैरजिम्मेवार जवाफ दिने गरेको ।
आर्थिक अवस्था: केही विद्यार्थीहरू घरको जिम्मेवारी सम्हाल्न श्रममा लाग्नुपर्ने बाध्यता ।
विद्यालयका चुनौती: विषयगत शिक्षक अभाव, विद्यालय फर्केर नआउने विद्यार्थीको समस्या र विद्यालय वरपरको खराब वातावरणले विद्यार्थीमा परेको नकारात्मक असर ।
उनीहरूले नतिजा सुधारका लागि एकमहिने अतिरिक्त कक्षा चलाउने र विद्यार्थीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कमजोर नतिजाका बीचमा पनि महानगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार देखिएको छ । यस वर्ष एसईईमा सहभागी ४,०५६ विद्यार्थीमध्ये ९५६ जना ‘नट ग्रेडेड’ भए पनि उच्च जीपीए ल्याउनेको सङ्ख्या बढेको छ ।

उच्च जीपीए: यस वर्ष ७८९ जनाले ३.६१ देखि ४ जीपीए ल्याए, जुन गत वर्ष ५४५ जना मात्र थियो ।
४ जीपीए: १७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।