दाउन्नेमा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग ठप्प, सयौँ सवारी अलपत्र

नवलपरासी, २५ असार । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को दाउन्नेमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण खुर्सानी खोला नजिक सडक भासिएर एउटा ट्रक फसेपछि गएरातिदेखि नै बर्दघाट-दुम्किबास खण्डमा सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन राजमार्गमै अलपत्र परेका छन्। पूर्वबाट आएका सवारी साधनलाई दुम्किबासमा र पश्चिमतर्फ जाने सवारीलाई बर्दघाटको टिसिएन चोकमा रोकिएको छ।

“सडक खुलाउने प्रयास भइरहेको छ, तर लगातारको वर्षाले काममा बाधा पुगेको छ,” डीएसपी पन्तले भने, “यातायात सुचारु हुन केही समय लाग्ने देखिन्छ।”

नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको काम जारी रहे पनि दाउन्नेको १४ किलोमिटर खण्डमा काम सुस्त हुँदा यो समस्या पटक-पटक दोहोरिने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *