प्रा.डा. दिपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
काठमाडौँ, २५ असार। करिब तीन महिनादेखि नेतृत्वविहीन रहेको देशको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त हुनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त हुनुभएको हाे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।
नवनियुक्त उपकुलपति अर्याल त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुनुहुन्छ। यसअघिका उपकुलपति प्रा.डा. केसरजंग बरालले गत चैत १५ गते राजीनामा दिएपछि यो महत्वपूर्ण पद रिक्त रहँदै आएको थियो।