अमेरिकामा कार दुर्घटना: लुइजियानाका दुई नेपाली विद्यार्थीको निधन

काठमाडौं, ३१ असार । अमेरिकाको लुइजियाना राज्यमा भएको एक कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

स्थानीय समयअनुसार शनिबार राति करिब ९ बजे हाइवे ८० मा भएको दुर्घटनामा २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको निधन भएको हो। घटनामा अन्य दुई जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार, भारी वर्षाका बीच यादवले चलाइरहेको कार अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएपछि आगलागी भएको थियो। उनीहरूले सिट बेल्ट लगाएका थिए वा थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीय प्रहरीले दुर्घटनाको थप अनुसन्धानका लागि नियमित रासायनिक परीक्षण (टक्सिकोलोजी टेस्ट) को प्रक्रिया अघि बढाएको छ।

यसैबीच, लुइजियाना टेक विश्वविद्यालयले आइतबार एक वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।