हुम्लामा आगलागीले किराना पसल नष्ट, लाखौँको क्षति
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-४, झापुकुनामा आज बिहान आगलागी हुँदा एक किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय मानदेव शाहीको जस्तापाताले छाएको पसलमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय, हुम्लाका अनुसार पसलभित्र रहेका खाद्यान्न, लत्ताकपडा, स्टेशनरीका सामान र बिक्रीका लागि राखिएको पेट्रोल समेत जलेर नष्ट हुँदा ठूलो भौतिक क्षति भएको छ।
आगलागी भएको थाहा पाउनासाथ स्थानीय बासिन्दा र सर्केगाड प्रहरी चौकीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए, जसले गर्दा आगो अन्यत्र फैलिन पाएन।
प्रहरी नायब उपरीक्षक (डीएसपी) शङ्कर पोखरेलले आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो। आगलागीको कारण भने खुल्न सकेको छैन।