सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, खाेजीकार्य जारी
काठमाडौँ, १२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ सदस्य रहस्यमय रूपमा सम्पर्कविहीन भएका छन्।
गत बिहीबार घरमा सुँगुर काटेर भोज गरेपछि उर्मिला हायुको परिवार बेपत्ता भएको हो। उनीहरूको घर रित्तो फेला परेको छ भने नजिकैको छाप्रोमा आगो लागेको र निभाएको जस्तो शंकास्पद संकेत देखिएको छ।
गोलन्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकान्तमा रहेको घर अलपत्र छाडेर सम्पूर्ण परिवार नै गायब भएपछि स्थानीय प्रशासन र प्रहरीले सोमबारदेखि व्यापक खोजी सुरु गरेको छ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालका अनुसार, परिवारको घर एकान्तमा रहेकाले घटनाबारे ढिलो गरी मात्र जानकारी प्राप्त भएको हो। घटनास्थल पुग्दा घरमा कोही थिएनन्, तर घरबाहिर पकाउने भाँडाकुँडा छरिएका र केही लुगा झुण्ड्याइएको अवस्थामा भेटिएको थियो। घर नजिकैको एक छाप्रोमा काठहरू डढेको र आगो निभाएको जस्तो देखिन्छ, जसले घटनालाई थप रहस्यमय बनाएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी लालध्वज सुवेदीले स्थानीयको भनाइ उद्धृत गर्दै भने, “उहाँहरूले ८ साउन, बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ, त्यसपछि सम्पर्कमा हुनुहुन्न।” प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। केही स्थानीयले परिवारमाथि धेरै ऋणको भार रहेकाले सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरे पनि प्रहरीले यसको पुष्टि भइनसकेको जनाएको छ।