झापाको कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न, एक साताभित्र सञ्चालनमा आउने

झापा, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित प्रसिद्ध कन्काई घाटमा आधुनिक विद्युतीय शवदाह गृहको निर्माण कार्य सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताहरूको संयुक्त लगानीमा रु दुई करोड ३० लाखको लागतमा यो शवदाह गृह तयार भएको हो । निर्माण सम्पन्न भएसँगै यसलाई एक साताभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकारले सबैभन्दा ठूलो हिस्सा, रु दुई करोड, उपलब्ध गराएको हो । त्यसैगरी, कनकाई नगरपालिकाले रु २० लाख र विभिन्न स्थानीय दाताहरूबाट रु १० लाख सङ्कलन गरी कुल लागत जुटाइएको थियो । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा यसका लागि बजेट विनियोजन गरेको थियो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, प्रदेश सरकारसँगको सम्झौता बमोजिम शवदाह गृहको सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको छ । “सञ्चालनका लागि आवश्यक कार्यविधि बनाइसकेका छौँ र अब छिट्टै विधिवत उद्घाटन गरेर सेवा सुरु गर्छौँ,” उहाँले भन्नुभयो ।

विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले सम्पूर्ण निर्माण र जडानको काम सकेर फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार, गत साउन २७ गते झापा गाउँपालिकाकी ८० वर्षीया हेमती राजवंशीको शवदाह गरेर यसको सफल परीक्षणसमेत गरिएको थियो ।

यो प्रविधिले दाहसंस्कार प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनेछ । दाउरा प्रयोग गर्दा ३ देखि साढे ३ घण्टा लाग्नेमा विद्युतीय प्रणालीबाट शवदाह गर्न केवल ५० मिनेट लाग्ने संयोजक खरेलले बताउनुभयो । यसले समय र दाउराको ठूलो बचत गर्नुका साथै वातावरणीय प्रदूषण कम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

विसं २०६७ मा स्थापित कन्काई घाटमा हाल ५ वटा परम्परागत चितास्थलहरू छन् । स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निर्माण गरिएको यो विद्युतीय शवदाह गृहले यस क्षेत्रका बासिन्दालाई दाहसंस्कारका लागि आधुनिक र सहज विकल्प उपलब्ध गराएको छ ।