निजी विद्यालय संगठन प्याब्सन र एन-प्याब्सनद्वारा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै संयुक्त आन्दोलनको घोषणा

काठमाडाैं, ४ भदाै । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक, २०८०’ मा रहेका केही प्रावधानहरूप्रति असन्तुष्टि जनाउँदै संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।

उनीहरूका अनुसार, देशको कुल विद्यालय शिक्षामा करिब ३४% योगदान पुर्‍याइरहेका निजी शैक्षिक संस्थाहरूलाई विधेयकका केही प्रावधानहरूले अन्याय गरेको र ती अव्यवहारिक छन्। आफूहरूले विधेयकका विभेदकारी प्रावधानहरू सच्याउन सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित संसदीय समितिलाई पटक-पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

आन्दोलनका कार्यक्रम अनुसार, भोलि भोलि बिहान ११ बजेबाट माइतीघर मण्डलामा पुगेर प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, पर्सि देशभरका विभिन्न विद्यालयका स्कुल बसमा कालो झण्डासहितको प्रदर्शन, सोही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम पनि तय भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

भदौ ६ गते देशैभरका स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायतका आन्दोलन घोषणा गरेको हो ।

शिक्षा विधेयक : यस्ता छन् निजी विद्यालयका ५ बुँदे माग (सूचीसहित)

प्रमुख ५-बुँदे मागहरू:
१. विधेयकबाट “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउनुपर्ने।
२. विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै: पोशाक, स्टेशनरी, खाजा) उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने।
३. कम्पनी ऐनअन्तर्गत सञ्चालित विद्यालयहरूलाई “गैरनाफामूलक” बनाउँदै लैजाने प्रावधान हटाउनुपर्ने।
४. छात्रवृत्ति वितरण गर्ने अधिकार सम्बन्धित विद्यालयलाई नै दिनुपर्ने।
५. सामुदायिक विद्यालयको कक्षा ६-१० मा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा र सिटिइभिटी (CTEVT) मा छात्रवृत्ति पाउने विभेदकारी व्यवस्था खारेज गर्नुपर्ने।