झापाको कनकाईमा दुई भ्यान ठोक्किँदा एकको मृत्यु, एकै परिवारका चार घाइते

झापा, ११ भदौ । झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुल नजिक गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, पूर्व-पश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट आइरहेको मे १ च ३४४० नम्बरको पिकअप भ्यान ठोक्किएका थिए।

दुर्घटनामा मे १ च ५४४६ नम्बरको भ्यानका चालक, शिवसताक्षी नगरपालिका–७ निवासी २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

सोही दुर्घटनामा मारुती भ्यानमा सवार एकै परिवारका चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा शिवसताक्षी–७ कै ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र ९ वर्षीया छोरी प्रिन्सा रहेका छन्। प्रहरीका अनुसार, घाइते सबैको अवस्था सामान्य रहेको छ।

दुर्घटना गराउने अर्को सवारी (पिकअप) का चालक धनकुटाको महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *