एन्टीबायोटिक प्रयोग नभएका अण्डा

काठमाडौँ, भदौ १६ । अचेल नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकमुक्त हुन थालेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिकको प्रयोगमा रोक लगाएपछि किसानहरूले अन्य विधि अपनाएर अण्डा उत्पादन गरिरहेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार नेपालका अधिकांश पोल्ट्री फार्महरूले एन्टीबायोटिक प्रयोग गर्न छोडेका छन् । नवलपरासीको दाउन्ने एग्रो फार्ममा त एन्टीबायोटिकको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ, जहाँ डा. दाहालले पोषण परामर्श दिने गर्छन् । उहाँका अनुसार, सरकारको नीतिपश्चात् एन्टीबायोटिक ग्रोथ प्रोमोटरको प्रयोग बन्द गरिएको छ, जुन पहिले दाना र पानीमा मिसाइन्थ्यो ।

अहिले कुखुरालाई रोगबाट बचाउन खोप र जडीबुटीजन्य (हर्बल) खुराकहरू प्रयोग गरिन्छ । डा. दाहालले पहिले एन्टीबायोटिक प्रयोग गर्दा त्यसको अवशेष अण्डा हुँदै मानव शरीरमा पुगेर नकारात्मक असर पार्ने गरेको बताउनुभयो । तर अहिले प्रयोग गरिने खोपले कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउने र मानव स्वास्थ्यमा कुनै असर नपार्ने उहाँको भनाइ छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले संघअन्तर्गतका फार्महरूमा एन्टीबायोटिक प्रयोग नगरिएको र गुणस्तरीय अण्डा उत्पादनमा जोड दिएको बताउनुभयो । जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई प्राथमिकतामा राखेर एन्टीबायोटिकमुक्त अण्डा उत्पादन भइरहेको उहाँको भनाइ छ । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरू अपनाइएको बताउनुभयो। उहाँका अनुसार नेपालमा उत्पादित अण्डा एन्टीबायोटिकमुक्त भए पनि सीमाबाट भित्रिने अण्डाको गुणस्तरबारे भन्न सकिँदैन ।

फिजिसियन डा. भोजराज अधिकारीले कुखुरामा हुने रोगहरू अण्डामा नसर्ने र एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा अझ स्वस्थकर बन्ने बताउनुभयो। उहाँका अनुसार अण्डा मानव स्वास्थ्यका लागि निकै उपयोगी खाद्यवस्तु हो ।