उपल्लो मुस्ताङको छोर्तेनछोमा तीव्र गतिमा मोटरेबल पुल निर्माण
काठमाडौँ, भदौ २० । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले वडा नं १ र २ लाई जोड्ने छोर्तेनछोमा एउटा महत्वपूर्ण पक्की मोटरेबल पुल निर्माण गरिरहेको छ । गाउँपालिकाको वित्तीय समानीकरण बजेट अन्तर्गत निर्माणाधीन यो पुलले झोङ गुफा र निफुक गुम्बासम्मको पहुँचलाई पनि सहज बनाउनेछ । गाउँपालिकाले गत माघ १० गते माछापुच्छ्रे इन्जिनियरिङ प्राइभेट लिमिटेडसँग ७८ लाख २० हजार ८ सय ३६ रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार, आगामी माघ १० गतेसम्ममा पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।
गाउँपालिकाका सब-इन्जिनियर उदय तिमिल्सिनाका अनुसार, हालसम्म पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत रहेको छ। “तोकिएको अवधिमा काम सम्पन्न हुनेछ,” तिमिल्सिनाले भन्नुभयो । ८ मिटर लामो र ५ मिटर चौडा यो पुलको दुईतर्फी फाउन्डेसन वालसहितको ‘स्ल्याब’ ढलान अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार, यो पुल निर्माणपछि कोरला नाका अवलोकन गरी फर्कने पर्यटकहरूलाई छोसेर न्हेचुङस्थित बीओपी क्याम्पमुनिको मानव निर्मित गुफा अवलोकन गर्न सहज हुनेछ । वर्षायाममा समेत सवारी साधन लिएर गुफासम्म पुग्न सकिनेछ ।
साथै, यस पुलले गाउँपालिका कार्यालय केन्द्रबाट वडा नं १ र २ लाई जोड्ने हुँदा स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो सुविधा पुग्ने अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो । लोमान्थाङ गाउँपालिका–१ र २ को छोसेर गाउँ नेपाल-चीन उत्तरी कोरला नाकाबाट १६ किलोमिटर दक्षिणमा अवस्थित छ। पछिल्लो समय झोङ गुफा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्दो छ।