नेपालले अभ्यास खेलमा ओमानलाई हरायो

काठमाडौँ, १९ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अभ्यास खेलमा नेपालले शनिबार राति ओमानलाई छ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारीत २० ओभरमा नौ विकेटको क्षतिमा ११० रन बनाएको थियो । नेपालले १७ ओभरमा चार विकेटको क्षतिमा ११५ रन बनाएर लक्ष्य हासिल गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन तथा कुशल मल्ल १० रन (अविजित) को पालि खेले । ओमानका लागि आमेर कलिमले दुईतथा फेजल शाहले एक विकेट लिए ।

यसअघि, ओमानका लागि आर्यन विष्टले सर्वाधिक २३ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा १० रन दिएर तीन विकेट लिई ओमनलाई समस्यामा पारेका हुन् । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई तथा नन्दन यादव र कुशल मल्लले एक–एक विकेट लिए ।

नेपालले सोमबार कतारसँग पनि अभ्यास खेल खेल्नेछ ।

नेपाल टि२० विश्वकपमा चयन हुने अभियानअन्तर्गत ओमानमा छ । प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म हुनेछ । विश्वकप छनोटमा नौ टोली सहभागी छन् । जसमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।