भाइटीकाकाे उत्तम साइत ११:३९ बजे, कता फर्किएर टिका लगाउने ?

काठमाडौं, ६ कात्तिक । नेपालीहरूकाे दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ भाइटीका लगाइदिँदै छन् ।

आज तिहारकाे मुख्य दिन श्रद्धा, आस्था र निष्ठाका साथै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामनासहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिने गर्दछन् ।

दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । तर आज आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले बताए । तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

टीका लगाउँदा कता फर्किने ?

तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।